२७ चैत, काठमाडौं । प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे।
सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पु¥याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे ।
अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उनले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा पनि सङ्गठनको छवि उच्च गर्न र सङ्गठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए ।





