प्रदेश 2

अन्न भण्डार मानिने स्थानमा अकाशे पानीको भरमा रोपाइँ

१५ असार, गोलबजार । नेपालको अन्न भण्डार मान्ने चुरे पहाडदेखि तलको भागमा अकाशे पानीको भरमा किसान धान खेती गर्न बाध्य रहेको छ भएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गा ७३ हजार हेक्टर क्षेत्रफलमध्ये धान रोपाइँ ५४ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । त्यसमध्ये हालसम्म आठ प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा ३९ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्र उपलब्ध रहेको जसको मूल स्रोत स्यालो ट्युवेल रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कूल खेतीयोग्य जग्गामध्ये गत वर्ष यही समयमा सिरहाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । फाटफुटरुपमा सरकारी र निजी स्तरबाट गाडिएको स्यालो ट्युवेलबाट विद्युतीय मोटर र दमकलबाट पानी तानेर खेती भई रहे पनि पानी नपरेपछि अधिकांश भूभागमा अझैसम्म धान रोपाइँ हुन सकेको छैन ।

मनसुन सुरु भए पनि हालसम्म पर्याप्त पानी परेको छैन । केही दिनअघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन नसकेको किसानले बताएका छन् । पानी नपर्दा रोपाइँ गर्न नसकिएको भगवानपुर गाउँपालिका–३ कृषक पप्पुकुमार यादवले बताए। गत वर्ष यहीँ समयमा २५ प्रतिशत रोपाइँ भएको उनले जानकारी गराए । यो वर्ष धान उत्पादनसमेत घट्ने सिरहा नगरपालिका– १५ का कृषक ब्रह्मदेव यादवको गुनासो थियो । उनले भने, “विगत वर्षमा यो बेलासम्म रोपाइँ गर्दा धान हरियो भइसक्थ्यो भने रोपाइँ पनि अति तीव्ररुपमा हुन्थ्यो । यो वर्ष कहिले रोपाइँ हुने हो थाहा छैन ।” “समयमै धान रोप्न नपाउँदा धान उत्पादनसमेत घट्न सक्ने भन्दै कृषक चिन्तित बनेका छन् ।”

गत वर्ष यही समयमा २२ प्रतिशत रोपाइँ भइसकेकामा यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताए। उनले भने, “यो वर्ष पानी परेको छैन, किसानले बनाएका धानको ब्याड केहीँ सुक्न थालेका छन् । पानी परेको भए किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु गर्थे ।” अकाशे पानीको भर पर्दा रोपाइँ नै हुन नसकेको केन्द्रको भनाइ थियो ।

आजदेखि पानी छाड्दै कमला नहरमा

कमला नहरमा असार १५ को अवसर पारेर विधिवत् पूजा गरी नहरमा पानी छाडिने धनुषाको पोर्ताहास्थित कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख वीरेन्द्र यादवले बताए। पहिला साउन १ गतेदेखि नहरमा पानी छाड्ने गरिन्थ्यो । गत वर्ष पनि १४ असार नहरमा पानी छाडिएकामा बर्सात्को समयमा बाह्र हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ हुँदै आएको थियो । सुक्खा याममा कमला नदीमा पानी कम हुने भएकाले आयोजनाले लक्ष्यअनुसार सिँचाइका लागि पानी उपलब्ध गराउन नसकिरहेको उनको भनाइ थियो ।

नहरमा पानी आउने सुनिश्चत भएपछि विष्णुपुर गाउँपालिका–४ थल्हाका राधेश्याम यादवले भने अब नहर छेउको जग्गामा धान रोपाइँ चाँडै सकिने बताए। कमला सिँचाइ व्यवस्थापन कार्यालयले कमला नदीबाट निकालिएको नहरबाट कर्जनहा नगरपालिका, मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिका, औरही गाउँपालिकाका केहीँ भाग र विष्णपुुर गाउँपालिका, कल्याणपुर नगरपालिका अधिकांश भागमा सिँचाइ हुने गरेको छ ।