समाचार

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

२२ असार, महोत्तरी । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन् । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उनले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गरे।

मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले यस क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेसका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गरे। “हाम्रो विगतका जे–जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्”, अध्यक्ष यादवले भने, “यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारूका प्राचीन परम्परा कुनै नछुटुन् ।” उनले इतिहास लेखनका क्रममा मधेसका विभिन्न क्षेत्रमा फरक–फरक भाषा र चालचलनको खोजी गर्न पनि विज्ञहरूसँग आग्रह गरे।

कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने औँल्याए । यसैगरी भारतीय प्राज्ञ अयोध्यानाथ झाले नेपालको मधेस भू–भाग र भारतको बिहारका रीतिथिति, संस्कृति, भाषा, लवाइखुवाइ र रहनसहन मिल्दाजुल्दा रहेका हुँदा यी सबैको खोजी हुन आवश्यक रहेको बताए।

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’को अध्यक्षतामा भएको दुईदिने कार्यक्रममा ‘मधेसको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म’, ‘मधेसको इतिहास–गण्डकी पूर्वदेखि कोशी पश्चिमसम्म’, ‘मधेसको इतिहास–पूर्व मेचीबाट कोशीसम्म’, ‘मधेस प्रदेशको साहित्य, संस्कृति’ र ‘मधेस प्रदेशको भाषा- कला’सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए।

कार्यक्रममा नेपालको मधेस र सीमावर्ती भारतका भाषा÷साहित्य क्षेत्रमा कार्यरत प्राज्ञहरू सहभागी रहेको प्रतिष्ठानले जनाएको छ ।