प्रदेश 2

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि…

१५ साउन, टीकापुर । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।

कालीदेवीले केही सोच्नै सकेनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, कालीदेवीले भने, “घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।”

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टीको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडीतिरबाट आएको भए भाग्न सकिने थिएन् । “हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ”, उनले भने, “यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ । हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।”

कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजागारीका लागि भारतमा छन् । परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटकपटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने हरी स्थानीय सुनारले बताए । “अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ”, उनले भने, “वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु ? त्रासमा पनि कसरी बस्ने होला ?”