प्रदेश 2

परिचयपत्र वितरणको प्रक्रिया तत्काल सुरु गर्न मुक्त हरवाचरवाहरुको आग्रह

२१ साउन, जनकपुरधाम । मुक्त हरवाचरवाहरुले तत्काल लगत सङ्कलन, प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँहरुले न्यायिक पुनःस्थापनालगायतका कार्य गर्न पहिचानसहितको परिचयपत्रका लागि तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् । मुक्त हरवाचरवा एवं अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले वर्षौदेखि पीडित हरवाचरवा को हुन् र कति छन् भन्ने विषयमा राज्यले थाहा पाउनुपर्ने भन्दै त्यसका लागि तत्काल तथ्याङ्क सङ्कलनको काम हुनुपर्ने बताए ।

“बाध्यात्मक रुपमा अरुको घरमा ऋण, जमिन वा पछि अन्नपात पाउने गरी काम गरिरहेका कृषि मजदुरहरु (हरवचरवा) ले पुस्तौँदेखि ऋण चुक्ता गर्न बधुवा श्रम गरिरहेका छन् । सरकारले एक वर्षअघि यी सबै बन्धनबाट मुक्तिको घोषणा गरेको थियो तर अहिलेसम्म हामीहरुको अवस्था, सङ्ख्या र आवश्यकता के हो भन्ने विषयमा अध्ययन गरेको छैन । यसकारण म सरकारलाई तत्काल यससम्बन्धी आवश्यक काम गर्न आग्रह गर्दछु”, मण्डलले भने ।

त्यसैगरी मुक्त हरवाचरवा श्रीप्रसाद सदाले सरकारले मुक्तिको घोषणा गरेपछि पुनःस्थापनाका काम अगाडि नबढ्दा थप समस्या सिर्जना हुँदै गएको भन्दै यस्तै अवस्था रहे अवस्था विकराल हुने बताए । “सरकारले मुक्त घोषणा गरेपछि साहुहरुले काम दिन छोडेका छन् । कतिपयले अहिले पनि बाध्यात्मक अवस्थामा सस्तो मूल्यमा र दैनिक १० केजी धानमा काम गर्नु परिरहेको छ । सरकारले समयमै पुनःस्थापनाका काम नगरेमा हामीहरुलाई हातमुख जोर्नसमेत कठिन हुनेछ”, साहले भने, “फेरि पुरानै अवस्था आएमा सरकार र हामी मुक्त हरवाचरवा दुवैका लागि विडम्बना हुनेछ । त्यसैकारण हामी उचित ज्याला र पुनःस्थापनाका काम तत्काल सुरु गर्न सरकारलाई आग्रह गरिरहेका छौँ ।”