सुदूरपश्चिम

‘विपद् प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्छ’

१० भदौ, टीकापुर (कैलाली) । विसं २०७८ मा कैलालीमा बेमौसमी वर्षापछि बाढी आयो । बेमौसमी वर्षापछिको बाढीले कैलालीका तटीय क्षेत्रका पालिकामा ठूलो क्षति भयो । बाढीले टीकापुर नगरपालिकाका पनि सयौँ परिवार विस्थापित भए । विस्थापित भएर उच्च घर तथा विद्यालयमा बसेकाहरूले विभिन्न खाले समस्यासँग जुध्नुपर्छ । बाढीका कारण विस्थापित भएकी एक गर्भवतीलाई सेल्टरमा बसिरहेका बेला ब्यथाले चाप्यो । निरन्तरको वर्षाले स्वास्थ्य संस्थासम्म जाने बाटो अवरुद्ध भएकाले ती महिलालाई ‘सेल्टरमै’ सुत्केरी हुनुपर्ने बाध्यता थियो ।

व्यथाले च्यापेकीलाई सुत्केरी सेवा दिएकी टीकापुर–८ की स्थानीय निलु चौधरी त्यो पीडा भुल्न नसकिने बताउँछन्। “बाढीले बाटो अवरुद्ध थियो, उनलाई व्यथाले च्याप्यो, आवश्यक सरसामान पनि केही थिएन”, उनी भन्छन्, “मैले स्वास्थ्यकर्मीलाई फोन गरेँ, उनले सुझाएअनुसार उनलाई सुत्केरी गराएँ । मैले कसरी सेवा दिएँ, अहिले सम्झदा डर लाग्छ ।”

त्यसरी सेल्टरमा जन्मिएको नवजात शिशु अहिले ठूलो भइसकेको छ । “त्यो बेला ती सुत्केरी र बच्चालाई जोगाउन नसकेको भए के हुन्थ्यो रु”, उनी भन्छन्, “सेल्टरमा पनि सबैखाले सुविधा चाहिन्छ, हरेक विस्थापित बस्ने ठाउँमा एक जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्छ । महिलाका लागि अनिवार्य सुरक्षित आवास चाहिन्छ ।”

कैलाली हरेक वर्ष बाढीजन्य विपद्को जोखिममा पर्छ । कैलालीमा बाढी, हावाहुरी, आगलागी, शीतलहरजस्ता विपद्ले नागरिकलाई जोखिममा पार्छ । विशेषगरी बाढीजन्य विपद्ले जोखिममा रहेका क्षेत्रका जोखिममा रहेका नागरिकलाई असर पार्छ । विपद्का समयमा महिलाका सवालमा गम्भीर बन्नुपर्ने र विपद्मा उद्धार, राहत तथा प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्नेमा छलफल हुन थालेको छ ।

स्थानीय विष्णु रेग्मी सुत्केरीका बालबालिका साना हुने भएकाले बच्चाका आमा र गर्भवती राख्ने आवास सुरक्षित, सुविधासहितको छुट्टै हुनुपर्ने बताउँछन्। “बालबालिका साना हुन्छन्, सेल्टरमा बस्दा सबैलाई एकै खालको, एकै समयमा खाना दिइन्छ”, उनी भन्छन्, “बच्चा, सुत्केरी, गर्भवतीलाई एकै खालको खानाले हुँदैन, उनीहरूलाई पोषणयुक्त खाना चाहिन्छ ।” अझ महिलालाई सेनिटर प्याड, साना बच्चालाई डाइपर चाहिन्छ । वर्षा भइरहेको समयमा कपडा नसुक्ने, कपडाको समेत अभाव हुने भएकाले साना बच्चा भएकालाई कपडा पनि पर्याप्त चाहिने कुरामा ध्यान दिनुपर्छ ।

टीकापुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सङ्गीता शाह विगतमा महिलाका लागि सुरक्षित घर नभएकाले समस्या भए पनि गत वर्षबाट विभिन्न सङ्घसंस्थाले सुरक्षित आवास बनाएकाले समस्या नहुने बताउँछन्। “महिलाका लागि सुरक्षित घर बनेका छन्, अब समस्या नहोला”, उनी भन्छन्, “अस्पतालमा पनि विपद् तथा हिंसामा परेकालाई छुट्टै राखेर, निःशुल्क उपचारको व्यवस्था छ ।”

विपद्का समयमा महिला पहिलो प्राथमिकतामा आउनुपर्ने सिनियर अहेव कमल रावल बताउँछन्। “विपद्का समयमा महिलामा पनि सुत्केरी, गर्भवती र साना बच्चाका सवालमा गम्भीर बन्नुपर्छ”, उनी भन्छन्, “उनीहरूका लागि पहिल्यै योजना बनाएको हुनुपर्छ । उनीहरूलाई तत्काल उद्धार तथा राहतका सुविधा दिनुपर्छ ।”