समाचार

६० किलो सुन तस्करी प्रकरण : २९ जनामाथि मुद्दा दर्ता

३१ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनामाथि मुद्दा दर्ता हुने भएको छ ।

सीआईबीले सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

सीआईबीका अनुसार प्रतिवादी बनाइने २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो माग दाबी हुने छ । सीआईबीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।