समाचार

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

१ असोज, काठमाडौँ । तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ ।

विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

पशुपतिनाथको दर्शनका लागि बिहान ३ बजेदेखि चार वटै ढोका खोलिएका छन् । यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत कार्य गरिरहेको छ । तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ । चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

यसैगरी तिज पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका धर्मपत्नी सविता पौडेलले पशुपतिनाथको पुजा आराधना र दर्शन गरेका छन् । उनले केहीबेरअघि पशुपतिनाथ मन्दिर पुगेर पुजा आराधना गरेका हुन् ।