समाचार

पशुपतिको जलहरीमा अनियमितता छ : अख्तियार

५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो ।

इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था नभएको अख्तियार उच्च स्रोतले बतायो । “जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो”, स्रोतले भन्यो ।

‘सुनको तौल, मुचुल्का र यथार्थ अवस्था फरक भेटिएको हो । जलहरी निर्माणमा भएको खर्चको अवस्था पनि पारदर्शी देखिएन’ अख्तियार स्रोतले भन्यो, ‘यी सबै अवस्था खुलाएर तयार पारिएको प्रतिवेदन बुझाइएको हो ।’