६ असोज, काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।
राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए।
“सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसद्बीचको सम्बन्धलाई घनिष्ट बनाएको छ”, उनले भने।
सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, सङ्गीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे। “हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धतारहेका छन्”, सभामुखको भनाइ थियो ।
सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। उनले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानुनी एवं नीतिगत सुधार भइरहेको जानकारी दिए।
सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिनुभयो । उहाँले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थी आकर्षित भएको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे। भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी। हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रुपमा दुवै मुलुक धनी रहेको उल्लेख गर्नुभयो । उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालयित रहेको बताए।
राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्डमैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राखे। तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा रहेका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौँ फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन्।





