समाचार

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

१७ असोज, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए ।

उनले भने, “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।”

निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसैंलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

यस वर्षको दसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ । सरकारले दसैंलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुनसक्ने कालोबजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उनको भनाइ छ ।