समाचार

राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा रणनीतिबारे छलफल

१७ असोज, काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।

आज सिंहरदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको परिषद्को ३१औँ वैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको परिषद्ले जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षासमेत भएको परिषद्ले जनाएको छ ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९, नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।