समाचार

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय

काठमाडौँ । चौरजहारी नगरपालिका सोती गाउँमा साढे ३ वर्षअघि भएको नवराज विकसंगै ६ जनाको हत्या प्रकरणमा रुकुम पश्चिम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार, न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । उनका अनुसार, चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतका दोषी ठहर भएका छन् ।

यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाइसकेका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार रहेका छन् ।

अदालतले नवराज विककी प्रेमिकाका बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २–२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
उनीहरुमाथि ६ जनाको ज्यान मारेको तथा अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।