समाचार

न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी

२० मङ्सिर, काठमाडौं । काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो ।

प्रहरीले उक्त परिणामको सुनसहित चार हजार एक सय अमेरिकन डलर र रु ३९ लाख ५० हजार नेपालीसहित कैलाली घर भई काठमाडौँको नागार्जुन बस्दै आएका ४१ वर्षीय पद्मप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले न्यूरोडलगायत विभिन्न ठाउँमा बिलबिजकबिना सुनका गरगहना बिक्री वितरण गरेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको खुलेको छ”, प्रवक्ता रेग्मीले भने ।

पक्राउ परेका पाण्डेले ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट सुनका विभिन्न गहना तथा सुनका टुक्रा बिलबिजकबिना बिक्री गर्ने गरेको खुलेको प्रवक्ता रेग्मीले बताए । पक्राउ पाण्डेलाई आवश्यक अनुन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।