देश

उपप्रधानमन्त्रीद्वारा सैनिक कल्याणकारी निर्देशनालय अवलोकन

१४ माघ, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यले आवश्यक महसुस गरेर सुम्पेका जिम्मेवारी निर्वाहमा नेपाली सेना सदैव अब्बल रहँदै आएको बताएका छन् । विसं २०३२ मा स्थापना भई सञ्चालनमा रहेको गैरनाफामूलक कोष र मातहत सञ्चालित विविध गतिविधिबारे जानकारी लिँदै उपप्रधानमन्त्री खड्काले मुलुकका लागि मरिमेट्न तयार सैनिक व्यक्ति र तिनका परिवारजनसँग जोडिएको कल्याणकारीका प्रकृयागत जटिलता समाधानमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

सैनिक कल्याणकारी निर्देशनालयमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सैनिक कल्याणकारी कोष सकलदर्जाको योगदानबाट खडा भइ सेवारत र अवकाश प्राप्त सैनिक व्यक्तिको भरोसा बनेको छ भने । रक्षामन्त्री खड्का सैनिक कल्याणकारी कोषको सहसंरक्षक छन् ।

उनले भने, “सैनिक कल्याणकारी कोषको मूल स्रोत घट्ने अवस्था आइपरेमा समेत सेवा विस्तार गर्ने चुनौतीसँग सन्तुलन मिलाउन विकल्पको पहिचान गरी आयआर्जनको दायरा विस्तार गर्नेतर्फ विचार पु¥याउन जरुरी छ ।”

रक्षामन्त्री खड्काले राष्ट्रिय सुरक्षाको मुख्य दायित्वसँगसँगै देशको विकासमा पनि योगदान पु¥याउँदै आएको सेनाले कोषमार्फत सञ्चालित शैक्षिक गतिविधिको उत्कृष्ट नतिजा तथा यस्ता कार्यक्रमबाट सर्वसाधारणले पनि लाभ हासिल गरेको देख्न र सुन्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बहुजन हिताय, बहुजन सुखाय मूलमन्त्रसहित हिताधिकारीको जीवनयापनमा सहयोग पु¥याउन सैनिक कल्याणकारी कोष मातहत सञ्चालित गतिविधि पारदर्शी एवं नियमसङ्गत रहेको जानकारी गराउनुभयो । उनले हिताधिकारीको कल्याणमा प्रभावकारी ढङ्गले सेवासुविधाको विस्तार गर्न कोष प्रयत्नशील रहेको उल्लेख गरे ।

नेपाली सेनाका बहालवाला एवं अवकाश प्राप्त सकलदर्जा तथा तिनका आश्रित परिवारजनको हितका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराई जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालित कल्याणकारी गतिविधिबाट सर्वसाधारण पनि लाभान्वित हुँदै आएका छन् ।

कोषको मूलधन रु ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार नगद मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न कार्यक्रममा रु ६ अर्ब ७५ करोड ५५ लाख लगानीसमेत कोषको यथार्थ सम्पत्ति रु ८२ अर्ब ६६ करोड १२ लाख रहेको छ ।

सैनिक कल्याणकारी निर्देशनालय मातहत सञ्चालित शिक्षण संस्था, स्वास्थ्य उपचार सुविधा एवं अन्य गतिविधिबाट तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, वार्षिक रु एक अर्ब २५ करोडभन्दा बढी रकम मुलुकको राजस्वमा प्रत्यक्ष योगदान भइरहेको छ ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी अशोकराज सिग्देल तथा सैनिक कल्याणकारी बोर्डका कार्यकारी निर्देशक रथी गौरव तण्डुल (अ.प्रा.)सहितका पदाधिकारी सहभागी रहेका थिए ।