आर्थिक

दक्ष कालिगढ पलायनले सीप हस्तान्तरण हुनसकेनस् आभूषण महासङ्घ

२० वैशाख। काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले नेपाली कालिगढ पलायन र विस्थापित हुँदैगएकाले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुननसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

  महासङ्घले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा नेपाली मौलिक ‘क्राफ्टम्यान’ सीप लोप हुँदैगएकाले सीप हस्तान्तरण हुननसकेको जनाएको हो । रोजगारीका लागि नेपाली युवा जोखिमपूर्ण कामका लागि विदेश पलायन हुँदा स्वदेशी आभूषण निर्माण क्षेत्रमा विदेशी कालिगढको बाहुल्यता बढ्दैगएको पनि महासङ्घको भनाइ छ ।

 महासङ्घका अध्यक्ष किसान सुनारले आभूषण क्षेत्रले नेपाली राजस्वमा बर्सेनी रु १२ अर्बभन्दा बढीको योगदान गर्दैआए पनि यस क्षेत्रलाई प्रोत्साहित गर्न कुनै क्षेत्रबाट पहल नभएको बताए । उचित मापदण्डको अभावले बहुमूल्य गहनाको उत्पादन, कारोबार, नियमन, आयात, आपूर्तिलगायतका कार्य व्यवस्थित हुननसकेकाले समस्या भइरहेका पनि उनले गुनासो गरे । अध्यक्ष सुनारले स्वदेशी रत्न पत्थर उत्खनन, प्रशोधन र निर्यातमा सरकारले निजी क्षेत्रसँग समन्वय एवं सहकार्य गर्नु आवश्यक रहेको औँल्याए । 

महासङ्घका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले नेपाली समाजमा गरगहनाको महत्व सिङ्गारमा मात्र सीमित नभएको जिकिर गरे । नेपाली समाजमा गरगहनाको संस्कृति र पौराणीक महत्वसमेत भएको श्रेष्ठको भनाइ छ ।