समाचार

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन प्रारम्भ

१५ फागुन, मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज अपराह्नदेखि प्रारम्भ भएको छ । बैठकमा प्रथम वक्ताका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार जनउत्तरदायी हुनुपर्नेमा जोड दिए ।

उनले सरकारले विगत समयदेखि दुग्ध उत्पादक कृषकलाई प्रोत्साहनस्वरुप प्रतिलिटर तीन दिँदै आएको अनुदान रकमलाई पनि स्थगित गरी कृषकलाई आत्मनिर्भर हुने कार्यमा उपेक्षा गरेकामा दुःख व्यक्त गर्दै कृषकको बृहत् हितका लागि प्रदेश सरकारले तुरुन्तै कदम चाल्नुपर्ने माग गरे ।

नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले संसद्लाई जनताको अपेक्षा पूरा गर्ने थलोका रुपमा हेरिनुपर्ने उल्लेख गदै दलगत स्वार्थलाई त्यागेर सङ्घीयता, गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एकढिक्का भएर जनताको हितमा लाग्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका सचेतक रत्नप्रसाद ढकालले प्रदेशको १३ वटै जिल्लाका जनतालाई आत्मविश्वास दिलाउने कार्यमा प्रदेश सरकारले रचनात्मक भूमिकाका साथै विकासको पूर्वाधारबाट जोड्न आवश्यक रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले संसद्लाई उपेक्षा गरेको आरोप लगाए । उनले प्रतिपक्षी दलसँग गरिएको सम्झौतालाई अक्षरशः पालना गर्नुर्नेमा जोड दिए ।

एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी समायोजनतर्फ सकारात्मक वचन दिए पनि त्यो कार्यान्वयन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षा कायम गर्न कठिन भएको गुनासो गरे ।

नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न प्रदेशका विभिन्न अस्पतालमा चिकित्सकको दरबन्दी थप गर्दै अत्याधुनिक उपकरण उपलब्ध गराउन माग गरे ।

हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले सङ्घीयतालाई दरिलो बनाउँदै प्रदेशमा विकास पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले बेरोजगार युवा समूहलाई आफ्नै स्रोतसाधन परिचालन गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिन सुझाए ।

बैठकले २०७४ मा चितवन जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित बलराम पौडेलको दुर्घटनामा परेर निधन भएकोप्रतिमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै सर्वसम्मतिबाट शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक भोलि फागुन १६ गते बुधबार बिहान ११ः३० बजे हुनेछ ।