समाचार

पाँच महिनापछि महाकाली पुल निर्माण सुरु

१३ चैत, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ । पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम छ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।

उहाँले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । “भेरिएसनका कारण अझै १५ करोड बक्यौता छ ।” उनले भने, “गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।”

उनले ८ दशमव ६ किलोमिटर छ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताए । “रकम अभावलगायतको कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भने, “कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृतिलगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।”

तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन् । गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ ।