समाचार

बागमती प्रदेशसभा बैठक चैत १९ मा

१६ चैत, मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए । प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् ।

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ । एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७ (उपसभामुखसहित), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित) र नेमकिपाको तीन सदस्य रहेका छन् ।