५ चैत, काठमाडौँ। आज बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा कस्का भरिया हुन् भन्ने नखुलेको बताइएको छ । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट पक्राउ गरेको थियो।
प्रहरीले लामा सहित उनको साथबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बरामद गरेको थियो। उनले ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर उक्त रकम लुकाइ छिपाइ केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
उनी चालक भएर भरियाको रूपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तर, उनी कसको भरिया हुन् भन्ने चाहिँ नखुलेको प्रहरीले जनाएको छ।
लामा यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी पाँच वर्ष कैद भुक्तानी गरेर जेलबाट छुटेका थिए। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रूपमा काम गर्दै आएको बताएका छन्। तर,उनले अहिले बरामद रकम कसको हो भन्ने चाहिँ नखुलाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको छ। प्रहरीले उनको साथबाट उक्त रकम, एक थान मोबाइलसहित एउटा ट्रक बरामद गरेको छ।