२५ चैत, काठमाडौँ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भोलि मङ्गलवार गर्ने भनिएको प्रदर्शन र साभालाई लिएर तीन सुरक्षा अङ्गको बैठक बसेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त बैठक बसेको हो।
उक्त बैठकमा नेपाल प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागी भएको बुझिएको छ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका कारण ठुलो जनधनको क्षति भएको थियो। भोली पनि त्यस प्रकारका घटना नहोस् भनेर सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएको देखिन्छ।
तीनकुनेको घटनामा एक जना आन्दोलनकारी साथै एक जना पत्रकारको ज्यान गएको थियो। दर्जनौँ घाइते भएका थिए।