समाचार

मधेश प्रदेशमा तत्काल ५ सय ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

९ साउन, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५ सय वटा ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् ।

मटिहानी नगरपालिका–८, विग्ही नदीमाथिको पुल र वडा नम्बर ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको संकट झेलिरहेको मधेश प्रदेशमा तत्कालै ५ सय वटा डिप बोरिङ जडान गरिने बताएका छन्।

हवाई उडानमार्फत मटिहानीआउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उनले उल्लेख गरेका थिए । उनले मधेश प्रदेशका ८ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको समेत उनले चर्चा गरेका थिए । बाँकी ७ वटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको उनको दावी छ  ।  

प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेका सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेका हुन्।