८ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई महत्वपूर्ण विषयमा छलफलका लागि संसदीय समितिले बोलाएको छ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई आज बिहान साढे ११ बजे बस्ने बैठकमा उपस्थिति जनाई विस्तृत जानकारी दिन आग्रह गरेको हो।
समितिले मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौताका प्रावधान, सरकारले गरेको खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको हालसम्मको प्रगति, तथा सुनकोसी–मरिन डाइभर्सन आयोजनासहित मन्त्रालयसँग सम्बन्धित अन्य विविध विषयमा प्रत्यक्ष जवाफ र अपडेट लिन लागेको सचिवालयले जनाएको छ।
बैठकमा यी सबै मुद्दाबारे विस्तृत छलफल हुने र आवश्यक निर्देशनसमेत जारी हुन सक्ने बताइएको छ।



