१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले पार्टीका प्रदेश इञ्चार्जका नेताहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
पार्टीका अनुसार खाली रहेका प्रदेश इञ्चार्जका पदहरू अब केन्द्रीय सदस्यबाट पूर्ति गरिनेछ। सचिवालय सदस्य समेत रहेका यी नेताहरूलाई आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित गतिविधिमा जिम्मेवारी दिइने छ।
सचिवालय बैठकले जारी गरेको निर्णयमा भनिएको छ, “प्रदेश इञ्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इञ्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।”
गत वैशाखमा सातै प्रदेशका इञ्चार्ज तोकिएका थिए। कोशी प्रदेशमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिममा हरि ढकाल इञ्चार्ज थिए। तर, कोशी इञ्चार्ज सन्तोष परियारले पार्टी परित्याग गरिसकेका छन्।
सहमहामन्त्री विपिन आचार्यका अनुसार, निर्वाचन नजिकिँदै गर्दा नेताहरूलाई चुनाव केन्द्रित गतिविधिमा लगाउन प्रदेश इञ्चार्जको जिम्मेवारी फेरबदल गरिएको हो।




