१५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा कलाकारदेखि खेलकुद क्षेत्रका व्यक्तित्वसम्म समेटिएका छन्। बन्दसूचीमा गायक प्रकाश सपुत र क्रिकेटर ज्ञानेन्द्र मल्लजस्ता चर्चित नामहरू पनि समावेश छन्।
सोमबार रास्वपाले विभिन्न समूहलाई समेट्दै ११० जनाको समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा पेस गरेको हो। उक्त सूचीमा बालेन शाह समूह र कुलमान घिसिङ समूहका नेताहरू पनि समावेश छन्।
आदिवासी जनजाति क्लस्टरअन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा डा. राम रामा छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौं नम्बरमा परेका छन्। आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा टासी लाजोमको नाम छ।
खस आर्य क्लस्टर अन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा विपिन कुमार आचार्य छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौं नम्बरमा छन्। उनीभन्दा अगाडि सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने र रमेश प्रसाईंको नाम राखिएको छ।
खस आर्य महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावल छिन्। त्यसपछि क्रमशः विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धिताल रहेका छन्।
थारु समुदायतर्फ पुरुषमा सुरेन्द्र चौधरी र महिलामा गीता चौधरी पहिलो नम्बरमा छन्।
दलित क्लस्टरअन्तर्गत पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा छन् भने गायक प्रकाश सपुत दोस्रो नम्बरमा परेका छन्। त्यसपछि प्रकाशचन्द्र परियार तेस्रो र रामजी राम चौथो नम्बरमा छन्। दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन्।
मधेशी समुदायअन्तर्गत पुरुषतर्फ डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल पहिलो नम्बरमा छन्।
मुस्लिम समुदायतर्फ पुरुषमा आसिफ शाह पहिलो नम्बरमा छन् भने उनीपछि मिर्जा रसिद वेग छन्। मुस्लिम महिलातर्फ समिना मिया पहिलो नम्बरमा छिन्। उनीपछि मोहना अन्सारी र समिउन निशा छन्।
रास्वपाले समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै विभिन्न समुदाय र पृष्ठभूमिका व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेटेको जनाएको छ।




