काठमाडौं, १७ पुस । सन् २०२५ मा नेपालबाट एक वर्षको अवधिमा १५ लाखभन्दा बढी नेपाली विदेशिएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागका अनुसार सन् २०२५ मा कुल १५ लाख २३ हजार नेपाली विभिन्न उद्देश्यले विदेश गएका छन्।
वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्। अध्ययन, श्रम, पर्यटन तथा व्यवसायका लागि नेपालीहरू विदेश जाने प्रवृत्ति पछिल्ला वर्षहरूमा बढ्दो क्रममा रहेको उनले जानकारी दिए।
कोरोना महामारीको समयमा विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको भए पनि त्यसपछि पुनः वृद्धि हुँदै गएको विभागको तथ्यांकले देखाएको छ।
यसैबीच, पर्यटन क्षेत्रमा पनि आवागमन बढ्दो देखिएको छ। सन् २०१५ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने ९ लाख ८२ हजार ५६१ जना विदेशी पर्यटक नेपालबाट फर्किएका थिए।
विशेषज्ञहरूका अनुसार रोजगारी, उच्च शिक्षा र व्यवसायिक अवसरको खोजीमा विदेशिने प्रवृत्ति अझै केही समय कायम रहने अनुमान गरिएको छ।





