काठमाडौं, २० पुस । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ।
आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो। रुजु गर्ने क्रममा देखिएका त्रुटि वा कमी छुट्याएर सम्बन्धित दललाई आज (आइतबार) साँझसम्म पत्रमार्फत जानकारी गराइने छ।
उनका अनुसार कागजात नपुगेका, उमेर पूरा नभएका र अन्य सबै त्रुटि छुट्याइनेछ। दलहरूले २१ देखि २७ गतेसम्म ती त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन्।
निर्वाचन आयोगले अन्तिम सूची सार्वजनिक गर्नु अघि उम्मेदवारहरू आफ्नो नाम फिर्ता लिन सक्नेछन्। समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गतेसम्म उम्मेदवारी फिर्ता दिन पाउने व्यवस्था छ।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि आयोगले अन्तिम बन्दसूची तयार गरी सार्वजनिक गर्नेछ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेश गरेका थिए।




