समाचार

एमालेका चार प्रदेश सांसद प्रतिनिधि सभा चुनावमा

४ माघ, जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सभाका चार जना प्रदेश सांसदलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार बन्नेहरूमा दुई जना पूर्वमुख्यमन्त्री र एक जना पूर्वसभामुख रहेका छन् ।

एमालेले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सिंह हाल जनमत पार्टीबाट निर्वाचित प्रदेश सांसदसमेत रहेका छन् ।

यसैगरी, धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोज यादव पनि प्रतिनिधि सभा चुनावमा एमालेको उम्मेदवार बन्ने भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई पनि पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका चारै जना प्रदेश सांसद प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका हुन् । उम्मेदवारी दर्ताको प्रक्रियाअघि उनीहरूले प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।