समाचार

निर्वाचनका लागि भारतबाट थप २२३ गाडी नेपाल ल्याइँदै

२१ माघ, काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले उपहारस्वरूप प्रदान गर्न लागेको थप २२३ थान सवारी साधनको तेस्रो खेप नेपाल ल्याइँदैछ। निर्वाचन प्रयोजनका लागि भारतले दिने सवारी सहयोग अन्तर्गत यो तेस्रो चरणको आपूर्ति हुन लागेको हो।

भारतीय दूतावास स्रोतका अनुसार यस खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडी नेपाल ल्याइँदै छन्। यसअघि पहिलो खेपमा ६१ वटा गाडी नेपाल भित्रिएका थिए, जसलाई माघ ६ गते भारतीय दूतावासले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

चालु निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ थान सवारी साधन उपलब्ध गराउने बताइएको छ। निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग गाडीको माग गरेको थियो।

प्राप्त सबै सवारी साधन भारतीय दूतावासमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरिनेछ भने गृह मन्त्रालयले आवश्यकता अनुसार सम्बन्धित निकाय तथा जिल्लामा वितरण गर्ने व्यवस्था मिलाएको छ।

गत भदौ २३ र २४ गते भ्रष्टाचार र सुशासनको मागसहित जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा विभिन्न स्थानका प्रहरी कार्यालयमा आगजनी हुँदा भवन र सवारी साधनहरू क्षति भएका थिए। त्यसयता गृह मन्त्रालयमा निर्वाचन तयारीसम्बन्धी छलफलका क्रममा धेरै जिल्लाबाट सवारी साधनको माग बढ्दै आएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

‘निर्वाचनको तयारी त भइरहेको छ, तर जिल्लाहरूबाट गाडी अभाव भएको भन्दै निरन्तर माग आइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले बताए।

निर्वाचनका लागि भारतको सहयोगस्वरूप प्राप्त सवारी साधनहरू निर्वाचन सम्पन्न भएपछि पनि नेपाल सरकारले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।