४ फागुन, काठमाडौँ । निर्वाचन आयोग, नेपालले चितवन–३ सम्बन्धी समाचार प्रकाशनका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले मिति २०८२/११/०३ र २०८२/११/०४ मा सेतोपाटी अनलाइनमार्फत प्रकाशित दुईवटा समाचार सामग्रीप्रति आपत्ति जनाउँदै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको हो।
आयोगद्वारा जारी पत्र अनुसार, “चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो” शीर्षकको समाचार (२०८२/११/०३) तथा “भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ” शीर्षकको समाचार (२०८२/११/०४) प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
आयोगले उक्त प्रकाशन निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) विपरीत रहेको जनाएको छ। उक्त प्रावधानअनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणाम सम्बन्धी मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था रहेको छ। त्यसैगरी, आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
आयोगका अनुसार सम्बन्धित अनलाइनबाट प्रकाशित सामग्री उक्त व्यवस्थाको प्रतिकूल देखिएकाले आवश्यक कारबाही गर्न निर्णयानुसार अनुरोध गरिएको हो। आयोगले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी सम्बन्धित विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको जनाएको छ।






