समाचार

मुस्ताङ पुगिन् प्रधानमन्त्री सुशीला कार्की, मौसम चुनौतीबीच २१ फागुनमै चुनावको अडान

८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेकी छन्। हिमाली क्षेत्रमा मौसम प्रतिकूल बनेसँगै २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा चलिरहेका बेला उनले मुस्ताङको भ्रमण गरेकी हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्तीको स्थलगत अवलोकन गर्दै स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेकी थिइन्। उनले निर्धाारित मितिमै निर्वाचन सम्पन्न हुने दोहोर्‍याउँदै सरकारले आवश्यक सबै तयारी तीव्र बनाएको बताइन्।

प्रधानमन्त्रीले जिल्लास्थित सरकारी अधिकारीहरूसँग छलफल गरी चुनावी तयारी, सुरक्षा अवस्था र मौसमजन्य चुनौतीबारे जानकारी लिएकी छन्। हिमाली भेगमा मतदान केन्द्र व्यवस्थापन र यातायात समन्वयलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको जनाइएको छ।

मुस्ताङ बसाइका क्रममा उनले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर मा दर्शनसमेत गरेकी थिइन्।

सरकारले २१ फागुनमै देशभर एकैपटक निर्वाचन गराउने तयारी दोहोर्‍याइरहँदा प्रधानमन्त्रीको यो भ्रमणलाई हिमाली जिल्लामा चुनावी व्यवस्थापन सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।