समाचार

नेपाल सरकार मध्यपूर्वी देशमा हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्दै

काठमाडौं, २६ फागुन । नेपाल सरकारले मध्यपूर्वी देशहरूमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको छ।

परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठन गरिएको इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी)को दोस्रो बैठकले यो निर्णय गरेको हो। बैठकमा इजरायल र अमेरिकाको आक्रमणपछि इरानले खाडी र अन्य मध्यपूर्वी देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण जारी राखेकाले ती देशहरूमा रहेका नेपालीको सुरक्षा चिन्ता बढेको बताइएको छ।

ईआरटीले हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीलाई उद्धार गरेर सम्बन्धित गन्तव्यसम्म पुर्‍याउने योजना बनाउन हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्ने निर्णय गरेको छ।

बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न हालसम्म भएका प्रयासको समीक्षा गरिएको छ। साथै, परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रोल रूम र नियोगहरूसँग सम्पर्कमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।

ईआरटीले ती क्षेत्रमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणका लागि समन्वयात्मक, द्रुत र प्रभावकारी व्यवस्थापन गर्ने काम जारी राख्ने जनाएको छ।