२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिपमा सांसदहरूका लागि आवासीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि पार्टीले ७ बुँदे निर्देशन पनि जारी गरेको छ। निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ।
त्यस्तै कार्यक्रम अवधिभर कार्यक्रममा सहभागी सांसदहरूले बाहिरी व्यक्तिलाई भेट्न पाउने छैनन्। पार्टीले परिवारका सदस्य, साथी वा अन्य कुनै व्यक्तिलाई कार्यक्रम स्थलमा नबोलाउन स्पष्ट निर्देशन दिएको छ।
सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट गर्न र फोटो खिच्नसमेत नपाउने व्यवस्था गरिएको छ।
पार्टीका अनुसार अनुशासन र प्रभावकारी प्रशिक्षणलाई ध्यानमा राख्दै कार्यक्रमलाई पूर्ण रूपमा आवासीय र आन्तरिक प्रकृतिको बनाइएको हो।
रास्वपाले जारी गरेको सूचनामा सांसदहरूलाई कार्यक्रमको नियम पालना गर्न आग्रह गर्दै अभिमुखीकरणलाई संसदीय भूमिका र जिम्मेवारीबारे प्रशिक्षण केन्द्रित बनाइने जनाएको छ।




