२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेलाई नयाँ मापदण्ड लागू गरेको छ। अब पार्टीबाट उम्मेदवार हुन ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट उत्तीर्ण हुन अनिवार्य गरिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका हुन्।
रास्वपाले उम्मेदवार बन्ने आकांक्षी संख्या धेरै हुने भएकाले छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन ‘क्यान्डिडेट क्लब’ गठन गरेको हो। यसअघि बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्दै ‘क्यान्डिडेट क्लब सम्पादन समिति’ पनि गठन गरेको थियो।
उक्त समितिको संयोजकमा विपिनकुमार आचार्य रहेका छन् भने सचिवमा केन्द्रीय सदस्य रामकुमार ढुंगालाई जिम्मेवारी दिइएको छ। समितिमा संघीय सांसदसहित अन्य सदस्यहरू पनि समावेश छन्।
रास्वपाले अहिलेबाटै आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारी थालेको जनाएको छ। २०७९ सालमा भएको स्थानीय तह निर्वाचनको पाँच वर्षे कार्यकाल २०८४ मा सकिने भएकाले पार्टीले समयमै संगठनात्मक र नेतृत्व विकासको तयारी अघि बढाएको हो।



