२० वैशाख, काठमाडौं । पहिलो पटक स्थानीय तह निर्वाचनमा सशक्त उपस्थिति जनाउने लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यापक तयारीमा जुटेको छ। पार्टीले देशभरका स्थानीय तहका लागि ३५ हजार २२१ उम्मेदवार छनोट गर्ने प्रक्रिया केन्द्रीय तहबाट अघि बढाएको छ।
यसका लागि सहमहामन्त्री विपिनकुमार आचार्य को संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ, जसले पारदर्शिता, समावेशिता र योग्यता आधारित उम्मेदवार छनोट प्रणाली विकास गर्ने जिम्मा पाएको छ।
समितिले वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म छलफल गर्दै सुझाव संकलन गरिसकेको छ र उम्मेदवार छनोटको मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछाने लाई बुझाइसकेको छ।
रास्वपाले उम्मेदवार बन्न इच्छुकका लागि ‘उम्मेदवार क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य बनाउने तयारी गरेको छ। यसअन्तर्गत प्रशिक्षण, परीक्षण र मूल्यांकनका चरण पार गरेपछि मात्र उम्मेदवार बन्न पाइनेछ।
छनोट प्रक्रियामा प्रारम्भिक निर्वाचन (४० प्रतिशत भार), लिडरसिप एकेडेमीको नतिजा, जनसम्पर्क, राजनीतिक निकटता र समावेशितालाई आधार बनाइनेछ। साथै, स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्ने र दलित, अपाङ्ग तथा अन्य समावेशी समूहलाई अतिरिक्त अंक दिने व्यवस्था प्रस्ताव गरिएको छ।
रास्वपाले उम्मेदवार चयनमा स्थानीय जनसमर्थन, पेशागत अनुभव, शैक्षिक पृष्ठभूमि र सामाजिक योगदानलाई प्राथमिकता दिने जनाएको छ। पार्टीले निकट भविष्यमा उम्मेदवार क्लबमा आवेदन खुला गर्ने तयारीसमेत गरिरहेको छ।
संघीय निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपाले अब स्थानीय तहमा संगठन विस्तार गर्दै संस्थागत रूपमा प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेको देखिन्छ।



