१३ जेठ, काठमाडौं । नेपालमा हाल १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सरकारको तथ्यांकले देखाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ। जसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको छ।
मन्त्री चौधरीले प्रतिनिधिसभा बैठकमा जानकारी दिँदै गोदाममा रहेको, नेपाल भित्रिसकेको तथा गोदाममा इन्ट्री हुन बाँकी मल समेत गरी हाल कुल मौज्दात १ लाख ४४ हजार ५८५ मेट्रिक टन रहेको बताइन्।
सरकारले चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
उनका अनुसार मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मल आपूर्तिमा केही समस्या आएको छ। हाल १ लाख ८७ हजार मेट्रिक टन मल आयात हुन बाँकी रहेको पनि उनले जानकारी दिइन्।
यसैबीच भारतसँग जिटुजी (G2G) मार्फत ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया मन्त्रिपरिषद्बाट स्वीकृत भई अघि बढाइएको छ।





