१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ८ बजे भर्चुअल माध्यमबाट सचिवालय बैठक बोलाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि तथा संगठनात्मक विषयमा विस्तृत छलफल गरिनेछ।
बैठकको कार्यसूचीमा अनुशासन आयोग, निर्वाचन आयोग र विभिन्न विभागमा मनोनयन, अनुशासनात्मक कारबाही तथा पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी विषय समेटिएका छन्। साथै प्रदेश र जिल्ला अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमितिको गठन, महाधिवेशन निर्वाचन कार्यविधि तथा विधान संशोधनका विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ।
यसैगरी संघीय सांसदहरूको पार्टीभित्रको जिम्मेवारी निर्धारण, प्रदेश, जिल्ला र पालिका तहका अधिवेशनसम्बन्धी व्यवस्थामा संशोधन तथा प्रतिनिधि छनोट प्रक्रियाबारे समेत बैठकमा छलफल हुने जनाइएको छ। रास्वपाले आगामी संगठनात्मक गतिविधि र महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन बैठकलाई महत्वपूर्ण मानिएको छ।



