ब्रेकिङ न्युज

निर्मला पन्त हत्या प्रकरण फेरि चर्चामा, गृहमन्त्रीले भने– ‘गुपचुपमै अनुसन्धान गरिरहेका छौं’

४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चर्चित घटनाको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले अनुसन्धान संवेदनशील भएकाले कतिपय काम सार्वजनिक नगरी अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे।

प्रतिनिधिसभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानबारे उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकार यस विषयमा गम्भीर रहेको बताए।

उनले घटनाको अनुसन्धान निरन्तर अघि बढिरहेको उल्लेख गर्दै अनुसन्धानका सबै पक्षलाई संवेदनशील ढंगले हेरिएको बताए।

गृहमन्त्री गुरुङले निर्मला पन्तको हत्यापछि उक्त घटनालाई लिएर राजनीति गर्ने व्यक्तिहरूको भूमिकाबारे पनि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरिरहेको दाबी गरे।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना लामो समयदेखि निष्कर्षमा पुग्न नसक्दा यसबारे पटक–पटक प्रश्न उठ्दै आएको छ। पछिल्लो पटक गृहमन्त्रीको अभिव्यक्तिसँगै सरकारले अनुसन्धानलाई निरन्तरता दिएको सन्देश दिएको छ।