४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने बजेटसम्बन्धी प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन थालेपछि प्रतिनिधिसभामा नियमापत्ति भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा प्रधानमन्त्रीकै जिम्मेवारीमा रहेको रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने तयारी गरेपछि नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले आपत्ति जनाएका हुन्।
बरालले प्रधानमन्त्रीकै तर्फबाट अर्थमन्त्रीले जवाफ दिने अभ्यास नभएको भन्दै नियमापत्ति गरेका थिए।
तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्रीलाई सम्बन्धित मन्त्रालयहरूको तर्फबाट जवाफ दिन अधिकार प्रत्यायोजन गरिएको पत्र प्राप्त भइसकेकाले नियमापत्तिलाई अस्वीकार गरे।
सभामुखले अधिकार प्रत्यायोजनको व्यवस्था प्रचलनअनुसार नै भएको स्पष्ट पार्दै अर्थमन्त्रीलाई जवाफ दिन अनुमति दिएपछि डा. वाग्लेले सम्बन्धित मन्त्रालयहरूको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।





