ब्रेकिङ न्युज

गुटबन्दी दोहोरिए यात्रा दुर्घटनातर्फ जान्छ – रवि लामिछाने

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले गलत राजनीतिक संस्कार र प्रवृत्ति दोहोरिए पार्टीको यात्रा दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन्।

उनले पार्टीभित्र गुट–उपगुट, अस्वस्थ प्रतिस्पर्धा र गलत परम्पराको बीउ नरोप्न आग्रह गर्दै सबै प्रतिनिधिलाई विवेक, क्षमता, इमानदारी र राष्ट्रप्रतिको उत्तरदायित्वका आधारमा नेतृत्व चयन गर्न आह्वान गरे।

लामिछानेले रास्वपा विषम परिस्थितिमा नागरिक विश्वासका साथ स्थापित भएको उल्लेख गर्दै पहिलो महाधिवेशनलाई इतिहास निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। उनले सांसद, मन्त्री वा पुराना–नयाँ भन्ने आधारमा नभई योग्यताको आधारमा निर्णय लिनुपर्नेमा जोड दिए।

त्यसैगरी, उनले पार्टीमा गुटबन्दी रोक्न र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न अनुशासन तथा निर्वाचन आयोग सक्रिय रहेको जानकारी दिँदै एकता र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे।

लामिछानेले आर्थिक कठिनाइका कारण कुनै प्रतिनिधि वञ्चित नहोस् भनेर महाधिवेशन शुल्क ऐच्छिक बनाइएको जानकारी समेत दिए।

उनले अन्त्यमा रास्वपालाई एकताबद्ध, अनुशासित र परिणाममुखी राजनीतिक शक्ति बनाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरे।