१० असार, काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम जारी रहँदा बुधबार नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। लगातार दोस्रो दिनको गिरावटसँगै बजार चार महिनायताकै न्यून स्तरमा पुगेको हो।
अघिल्लो कारोबार दिन पनि नेप्से २६.१६ अंकले घटेको थियो। बुधबार कारोबार अवधिभर बजार दबाबमा रह्यो र दिउँसो १ बजेतिर नेप्से २६३४ अंकसम्म झरेको थियो। हालको स्तर फागुन १४ यताकै सबैभन्दा न्यून मानिएको छ।
बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। क्षेत्रगत रूपमा फाइनान्स र व्यापार समूह बाहेक सबै उपसूचक राताम्मे बने। फाइनान्स समूह ०.१९ प्रतिशत र व्यापार समूह ०.८१ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, बीमा, उत्पादन तथा प्रशोधन तथा माइक्रो फाइनान्सलगायत अधिकांश समूहमा गिरावट देखियो।
यसबीच हालै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्दै लगानीकर्ताको ध्यान खिच्न सफल भए। भुजुङ हाइड्रोपावर, सीवाईसी लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स पनि उच्च वृद्धि हुने कम्पनीको सूचीमा परे।
उता सोपान फर्मास्युटिकल्स, भगवती हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा सबैभन्दा बढी कारोबार हुने कम्पनी बने।





