समाचार

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

२ मङ्सिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

“विद्यार्थी जीवनदेखिकै मेरा एक पुराना साथी एवं पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान थियो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु”, कांग्रेसद्वारा आज जारी शोक वक्तव्यमा सभापति देउवाले भनेका छन् ।

पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको थियो । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।

त्यसैगरी, ढुङ्गाना २०५१ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको थिए । माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताका रुपमा समेत ढुङ्गानाको सक्रिय भूमिका रहेको थियो ।

मानव अधिकार र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुङ्गानाले पु¥याएको योगदान सदैव स्मरणीय रहने तथा उनको निधनबाट सिङ्गो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको वक्तव्यमा उल्लेख छ ।