समाचार

तीज पर्वलाई सामाजिक सद्भाव कायम हुने गरी मनाऔँ

९ भदौ, दाङ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज आउन एक दिन बाँकी रहँदा जिल्लामा यसको रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेका को आज बिहानदेखि घुइँचो लागेको छ ।

विशेषगरी कपडा, चुरा, पोते, खाद्यान्न समान किनमेल गर्नेको बिहानदेखिे घुइँचो लागेको छ । तुलसीपुर बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी ३६ वर्षीया शारदादेवी ओली भन्छन्, “एक हप्ता भयो, बजारमा सामान किन्नेको घुइँचो छ, गाउँगाउँबाट सर्वसाधारण आउने गरेका छन्, कपडा बेञ्च भ्याइनभ्याई छ ।”

तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले विगतका वर्षभन्दा यस पटक राम्रो व्यापार भएको बताए । लामो समयदेखि तुलसीपुरको वीरेन्द्र चोकमा किराना पसल चलाउँदै आएका ४६ वर्षीय अन्सारी भन्छन्, “यसपटक पहिला जस्तो छैन, अहिले व्यापार राम्रै छ, बजारमा किनमेल गर्नेहरुको उपस्थिति बाक्लो छ ।”

तीज पर्वका अवसरमा जिल्लाका विभिन्न सङ्घसंस्थाले दर खाने, तीज मिलन जस्ता कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । नेपाल पत्रकार महासघ दाङ, प्रेस युनियन, प्रेस चौतारीलगायत संस्थाले समेत तीज मिलन कार्यक्रम आयोजना गरेका छन् । ती कार्यक्रममा बोल्ने अगुवा पत्रकार महिलाले तीजलाई सामाजिक सद्भाव कायम राख्नेगरी मनाउन सुझाव दिएका छन् । उनीहरुको एउटै स्वर थियो, “तीजलाई तडकभडक गरेर होइन, सरल, सहज र सभ्य रुपले मनाउनु पर्छ ।”

त्यसैगरी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) मा आवद्ध महिला सङ्घ सङ्गठन तथा जिल्लामा रहेका विभिन्न सामाजिक सङ्घसंस्था, आमा समूह, टोल सुधार, निजी विद्यालय तथा सरकारी विद्यालयलगायतले पनि तीज विशेष कार्यक्रम आयोजना गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ की ४६ वर्षीया राधा रजौरे तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउछन् । उनी भन्छन्, “यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।”

तुलसीपुर उपमहानगरपालिका–५ की ४४ वर्षीय नीरा ढुङ्गाना तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्ने बताउछन् । तुलसीपुरमा साढे दुई दशकदेखि डोल्मा सिलाइकटाइ तालिम केन्द्र खोलेर एक दर्जन बढी महिलालाई रोजगारी दिनुभएकी उनले तीजको व्रत आफू पनि बस्ने गरेको तर सरल रुपमा मनाउने गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका–५ का महिला उद्यमी विमला शर्मा तीज पर्व हाम्रो आफ्नै विशेषता बोकेको मौलिक पर्व रहेकाले यसलाई सबैले हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्ने बताउछन् । उनले तीज आउन एक हप्ता बाँकी रहँदा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दर खाने तथा तीज मनाउने तरिकाको विकास भए राम्रो हुने बताए ।

तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा माइती घर भएकी कोहलपुर निवासी ४४ वर्षीया कालिका रेग्मी तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउटन् । शिक्षण पेसामा रहेएकी उनी भन्छन्ु, “तीज पर्वमा चेतनामूलक, सरसफाइ, जागरणका गीत गाउने, बृहत् सरसफाइजस्ता कार्यक्रम गर्नु राम्रो हो ।”