३० असार, काठमाडौं । के.बी.एन.आर इस्वा पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओको प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
मंगलबार दुवै संस्थाबीच भएको सम्झौता अनुसार कम्पनीले जारी गर्ने १ करोड १९ लाख कित्ता साधारण शेयर (प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ) को कुल १ अर्ब १९ करोड रुपैयाँ बराबरको आईपीओमा ज्योति क्यापिटलले प्रत्याभूतिकर्ताको भूमिका निर्वाह गर्नेछ।
काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र के.बी.एन.आर इस्वा पावरका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले शेयर प्रत्याभूति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति र शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ।





