अन्तर्राष्ट्रिय

औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु

सिओल । उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एउटा समिति बनाउन सहमत भएका छन् ।
मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली परिषद्का प्रमुख कीम होङ–गूलका अनुसार, आफू र आफ्ना उत्तर कोरियाली समकक्षी कीम योङ–डाईबीच यस संयुक्त अभियानका बारेमा उत्तर कोरियाली राजधानी प्योङयाङमा हस्ताक्षर भएको छ । कीम योङ–डाई उत्तर कोरियाली संसदका उपाध्यक्ष पनि हुन् ।

कीम होङ–गूलले यस समितिको अध्यक्षता गर्नेछन् भने उत्तर कोरियाली नेताले समितिको उपाध्यक्षका रुपमा कार्य गर्नेछन् ।
दुवै पक्षले जापान समेतका अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गर्नुका साथै प्रत्यावर्तन परियोजनाका सम्बन्धमा एकअर्काबीचको परामर्शलाई निरन्तरता दिनेछन् ।

“हामीले उत्तर कोरियाली समकक्षीहरुलाई आगामी सेप्टेम्बरमा यहाँ निमन्त्रणा गर्दैछौं,” कमीले बताए । “हामीले माउन्ट कुमगाङमा भेटघाट गरी थप छलफल गर्ने बारेमा सोच्दैछौं ।” इतिहासकारहरुका अनुसार, जापानी औपनिवेशिककालमा लाखौं कोरियालीलाई जापानमा जबर्जस्ती श्रमिकका रुपमा काममा लगाइएको थियो । कीमका अनुसार करिब २२०० त्यस्ता श्रमिकको अस्थिपन्जर जापानी मन्दिरहरुका आसपास रहेका छन् ।
यो अन्तर–कोरियाली परियोजना दुई कोरियाबीचको सम्बन्ध सामान्यीकरणको एउटा महत्वपूर्ण कडी पनि हो ।