समाचार

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक सकियोः यस्तो भयो सहमती

काठमाडौं । काठमाडौंमा हिजोदेखी सुरु भएको नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक सकिएको छ । बैठकमा दुईदेशबीच विभिन्न विषयमा छलफल हुनका साथै विभिन्न विषयमा सहमती जुटेको भएको बताईएको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरको अध्यक्षता सम्पन्न वैठकमा दुबै देशबीच व्यापार, पारवहन र रेल सेवाहरुसम्बन्धी सन्धि–सम्झौताहरु पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्ष सहित सहमती जुटेको बताइएको छ ।

यस्तै नेपाल र भारत दुई देशले स्थल, हवाई र जलमार्गको कनेक्टिभिटीलाई बढाउने प्रतिबद्धता गरेको बताइएको छ ।
रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने कामलाई अघि बढाउने, नेपालका पाँच नाकासम्म रेलमार्ग विस्तार गर्ने र कोलकाता बन्दगाहबाट गंगा नदी हुँदै नेपालको कोशी र नारायणीसम्म मझौला खालको पानी जहाज संचालन गर्ने काममा भएका प्रगतिमा दुबै पक्ष सन्तुष्ट भएको बैठकपछि परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरि बेठकमा जलस्रोत, पारवहन, वाणिज्य, शिक्षा, कृषि क्षेत्रमा भएको साझेदारीलाई पनि अघि बढाउने सहमति गरेको छ । बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले लामो समयपछि नेपालमा राजनीतिक स्थिरता आएको र यसको निरन्तरता भारतको इच्छा भएको बताएका थिए ।

उनले आफ्नो मुलुक भारतले सँधै नेपालको हित चाहेको भन्दै नेपाल भारतको विशेष मित्र रहेको र उसको हित भारतकै हित रहेको बताएका थिए । साथै भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले दुई अर्ब ४५ करोड रुपैंयाको चेक नेपाललाई हस्तान्तरण गरेको छ ।

बुधबार पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले चेक हस्तान्तरण गरेका हुन । यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि भारतले १ अर्ब २९ करोड रुपैंयाको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी बैठकमा नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।