खेलकुद

प्रधानसेनापति ट्राई एडभेन्चरमा आर्मी च्याम्पियन

काठमाडौं । तेस्रो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको पुरुषतर्फको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ ।

धादिङको बैरेनीमा बुधबार भएको प्रतियोगितामा भारतीय सेनाको दुई टिमलाई पछि पार्दै आर्मी च्याम्पियन बनेको हो । भारतीय सेनाको ए र बी टिम क्रमश दोस्रो र तेस्रो भयो । उपाधिसँगै आर्मीले १ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेताले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गरे ।

नेपाली सेनाले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि एनटिए टिमले जितेको छ । प्याडल नेपाल दोस्रो र नेपाली चेली तेस्रो स्थानमा रह्यो । महिलातर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गरे ।

साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुनेछ । जसमा खेलाडीले ६।७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्‍याफ्टिङ गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ ५ विदेशीसहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गरेका थिए ।