गण्डकी प्रदेश

पूरा हुँदै सिँचाइ सपना

बागलुङ । विसं २०३४ ताका गाउँललेले खरानी र पहेँलो माटो लगेर अँधेरी खोलाबाट कुलो ल्याएर गाउँसम्म सिँचाइ सुविधा पुर्याईएको थिए । यसबाट खेतीकिसानी सजिलो, उत्पादनमा वृद्धि भएको थियो । बागलुङ नगरपालिका–५ मालिकावासीको सिँचाइ सपना सँधैलाई भने टिकेन ।

निमित मर्मतसम्भारको अभावमा विसं २०६० तिर कुलो बन्द भएपछि यस गाउँमा पुनः सिँचाइको अभाव खट्कियो । सुख्खा याम त गाउँलेलाई अभिशाप नै बन्ने गर्दथ्यो ।

स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएसँगै अँधेरीखोलाको सिँचाइ सपना फेरि ब्युँझियो । पुरानो मुहान र कुलो सिँचाइ आयोजनामा फेरियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत निर्माणाधीन सो आयोजना पुरा हुने चरणमा छ ।

गएको असोजदेखि निर्माण थालेको सोमरस निर्माण सेवाले चार महिनामै काम सक्न लागेको हो । “केही भागमा पाइप बिछ्याउन बाँकी छ, आयोजनाको काम अब लगभग सकियो”, निर्माण व्यवसायी प्रदीप सापकोटाले भने ।

बाटोका कारण गाउँलेहरुबीच असहमति बढेपछि पाइप बिछ्याउने काम केही ढिला भएको थियो । पाइप पनि समयमै आउन सकेन । मुहान, पोखरी, च्याम्बर, नाली, कुलोलगायत संरचना निर्माणको काम सकिएको छ । निर्माण कम्पनीले रु ४५ लाखमा सिँचाइ आयोजनाको ठेक्का पाएको थियो ।

आयोजनाको काम छिटो भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सब–इन्जिनियर कल्याण पौडेलले बताए । “निर्माण कम्पनीले तीव्र गतिमा काम ग¥यो, आयोजना छिटै पूरा हुने क्रममा छ”, उनले भने ।

आयोजनाबाट गाउँभरिमा २५ सय मिटर पाइप बिछ्याइने छ । दुईटा ठूला पोखरी निर्माण गरिएको छ । वडाध्यक्ष शिवप्रसाद सापकोटाका अनुसार साविक मालिका गाविसका वडा नं। ४, ५ र ६ का बासिन्दाले आयोजनाबाट प्रत्यक्ष लाभ लिनेछन् । चनौटे, नुवा, पात्लेलगायतका फाँटमा अबदेखि बाह्रैमास सिँचाइ सुविधा पुग्ने उनको । “मालिकाको हजारौँ हेक्टर जमिनमा सिँचाइ पुग्छ, अँधेरीखोलाको धेरै पुरानो सिँचाइले बल्ल मूर्त रुप पायो”, उनले भने ।

सिँचाइ आयोजना पार्नका लागि प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले समेत पहल लिएका थिए । वडाको अधिकांश भेगलाई समेट्ने गरी सिँचाइ आयोजना बनेपछि किसान पनि खुसी छन् । “सिँचाइको सारै समस्या थियो, अब सबैलाई सुविस्ता हुने भयो”, स्थानीयवासी कृष्ण सापकोटाले भन्नुभयो ।

मालिकामा उब्जाउ जमिन भएर पनि सिँचाइ अभावले खेतीबाली प्रभावित बनेको थियो । सिँचाइसँगै खानेपानी, सडकजस्ता पूर्वाधार विकास वडाको प्राथमिकतामा छ । ‘एक घर, एक धारा’ को लक्ष्य पूरा गर्न खानेपानी योजना पनि सञ्चालित छन् । सडक निर्माणलाई पनि गति दिइएको छ । सदरमुकाम बागलुङ बजारदेखि जम्मा ९ किमी दुरीमा रहेको मालिका गाउँमा भर्खर विकासका कार्यहरु थालनी भएका छन् ।