खेलकुद

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल माघ पहिलो सातादेखि हुँदै

कास्की । पोखरामा माघ पहिलो साता ‘गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ । गण्डकी प्रदेश फुटबल सङ्घ र प्रदेश लिग सञ्चालन कमिटीको आयोजनामा माघ ४ देखि १३ गतेसम्म भण्डारढीकस्थित खेल मैदानमा सो प्रतियोगिता गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा गण्डकी प्रदेशका एन्फामा आवद्ध आठ जिल्लाका लिग च्याम्पियन क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेतालाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने लिग कमिटीका संयोजक एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा) केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले बताए ।

त्यसैगरी प्रत्येक क्लबलाई तयारी खर्चबापत रु ५० हजार उपलव्ध गराइने बताइएको छ । उत्कृष्ट डिफेन्स, गोलकिपर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रदेशअन्तर्गतका फुटबल खेलाडीको खेलस्तरको विकास गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सघाउने उद्देश्यले लिग आयोजना गरिएको बताइन्छ ।

जिल्ला लिग च्याम्पियन कास्कीको आदर्श क्लब भण्डारढिक, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी युथ, स्याङ्जाको होराइजन क्लब, गोरखाबाट बौद्ध हिमाल, मनाङबाट डाँफे युवा क्लब र नवलपुरको गैँडाकोट खेलकुद समिति प्रतियोगितामा सहभागी बन्नेछन् । पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला एन्फामा आवद्ध नरहेको तथा बाग्लुङ एन्फामा आवद्ध भए पनि समयमै जिल्ला लिग नगरेकाले चार जिल्ला सम्मिलित छनोट खेल पुस २८ गते सञ्चालन गरिने र विजेता एक टिमले मुख्यमन्त्री कपमा सहभागिता जनाउने संयोजक थापाले जानकारी दिए ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीले प्रदेशस्तरीय लिगमा सहभागीता जनाउने र प्रदेशस्तरमा च्याम्पियन टोलीले राष्ट्रिय लिगमा समावेश गराउने एन्फाको योजना रहेको छ ।

प्रदेशस्तरीय लिग फुटबल सञ्चालन गर्ने एन्फाको नयाँ कार्यविधिअनुसार गण्डकी प्रदेशमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो । यसअघि प्रदेश नं १ मा प्रदेश लिग सम्पन्न भइसकेको एन्फाले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न रु ७३ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख उपलव्ध गराउने भएको एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङले जानकारी दिए ।