विचार/ब्लग

‘बन्दी जीवनका अनुभुतिहरु’ भित्रको अनुभुति

धर्मेन्द्र नेम्बाङ/ कुनै प्रकारको तानाशाही मलाई मन्जुर छैन । दुनियामा कतै इश्वर छ भने त्यसको पनि म दास हैन, अरुको त कुरै छाडौ ।
गुरुराज घिमिरे (बन्दि जिवनको अनुभुति)

युवा बौद्धिक नेता गुरुराज घिमिरेद्वारा लेख्यकरण गरिएको कृति ‘बन्दि जीवनका अनुभूतिहरु’को एकसरो अध्ययन सिध्याएर बसेको छु । लेखक(म खेलक भन्ने गर्छु) घिमिरेको यो दोस्रो पुस्तक हो भने उहाँको पहिलो पुस्तक भने राजनीतिमा नैतिकता नामक पुस्तक हो । त्यसो त राष्ट्रिय दैनिकमा उहाँका लेख रचनाहरु प्रकाशित भइरहन्छन् । त्यसैको संकलन थियो राजनीतिमा नैतिकता । ‘राजनीतिमा नैतिकता’मा उनले इमान्दारिताको पक्षमा वकालत गरेका छन् । सो पुस्तकमा इमान्दारिता र नैतिकताई पर्यायको रुपमा लिन सकिन्छ । पात्रहरु नैतिक भइदिए यो समाजलाई समृद्धतातर्फ डोर्याउन समय लाग्दैन भन्ने उहाँको निष्कर्ष छ । सोहि धारणा र ढंगको स्पिरिटमा उहाँको लेखहरु अध्यापि पढ्न पाइन्छ ।
यसरी राजनीतिमा नैतिकताको प्रस्तावक देखिने घिमिरे नेपाली समाजलाई प्रत्यक्ष परिवर्तन गर्ने मार्गको यात्री हुन । स्वतन्त्रताका योद्धा हुन् । नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्यमा आसिन, घिमिरे एउटा ट्रेडमार्क पनि हुन् भन्दा फरक पर्दैन । उहाँ संस्था पनि हो, आन्दोलन पनि हो, व्यानर पनि हो । यो उहाँको इमान्दारिताको लगानी, श्रम, मिहिनेत र संघर्षबाट प्राप्त लोगो हो । गुरुराज घिमिरे, गगन थापाहरुले नै गणतन्त्रको शान्तिपुर्ण आन्दोलनको उभार ल्याएको हो । आज हामीलाई प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रत्यक्ष उहाँको नेतृत्वदायी लगानी छ । तर उहाँ भने आफुलाई एक सामान्य र औसत नागरिकको रुपमा मुल्याङ्कन गर्नु हुन्छ र भन्नुहुन्छ ..म सामान्य व्यक्ति थिएँ र हुँ अनि भईरहने छु, अलौकिक हैन । (बन्दि जिवनको अनुभुति )।

त्यस्तै एकठाउँमा उहाँ भन्नुहुन्छ हामीले जिवन अर्पेका छौं । र त्यो नाम जनतालाई सुख दिनको लागि हो । यसरी उहाँ आफ्नो सार्वजनिक जिवनको सन्दर्भमा प्रष्ट विचारका साथ अगाडि बढ्नु भएको छ ।
यसरी बैचारिक, दार्शनिक र शैद्धान्तिक कुराहरुको लेखन गर्ने र त्यसको कार्यन्वयनको लागि दिनरात खट्ने व्यक्तित्व घिमिरेको दोस्रो पुस्तक बन्दि जिवनको अनुभुतिहरु संकलन, संग्रह भन्दा पनि यो सिधै पुस्तक हो । जुन उहाँले जेलमा लेख्नु भएको हो । त्यसकारण पुस्तकको नाउँ नै बन्दि जिवनको अनुभुति रहन गयो । अथवा यो पुस्तक जेल जिवनको अनुभुतिहरु हो । तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते सम्पूर्ण शासनाधिकार आफ्नो हातमा लिएर प्रत्यक्ष शासन गर्ने गरि अगाडि आएपछि त्यसवेलाको आन्दोलनको नायक गुरुराज घिमिरे विराटनगरबाट पक्राउ पर्नुभयो । उहाँ लगायत ठूलो दलबल या देशैभरि धरपकड शुरु भयो । त्यही राजनीतिक संकटको बेला, मनस्थिति अलि खलबलिएको बेला, ज्यानको शुरक्षामाथि शंका भएको बेला उहाँले पोख्नु भएको अनुभुतिहरु हो । त्यसकारण यो पुस्तक प्रतिगमनकारी समयको एउटा दस्तावेज हो । एकजना युवा नेता जसको सपनामा परिवर्तन छ, लोकतान्त्रिक नेपाल छ, समृद्ध राष्ट्र«को परिकल्पना छ, यो त्यसैको डायरी हो ।

यो पुस्तकको आवरण, पर्यावरण र वाताबरण राजाको प्रत्यक्ष शासनको समय भएकोले यस बन्दि जिवनको अनुभुतिहरुमा एउटा उराठ लाग्दो समयको चित्र हो । चारैतिर निराशाको बादल मडारिरहेको बेलाको हो । जेलभित्रको जिवनको दैनिकी हो । त्यसकारण यो पुस्तकले प्रतिगमनकारी समयको इतिहास बोकेको छ । मोरङ जिल्लामा प्रतिगमनको समय कस्तो थियो त्यो विषयमा यो पुस्तकले बोल्छ । धरपकड कसरी भयो । जेल भित्र भएका विश्लेषणहरु छन् । सँगै जेलमा बसेका साथीहरुसँगको हस्यौलि ठट्यौलिहरु छन् । जेल भित्र प्राप्त सुचनाको विश्लेषण, उपलव्ध पत्रपत्रिकाको आधारमा विश्लेषण छ । साथीहरुबीच सेयर भएको समाचारहरु छन् । लेखकको पारिवारिक छलफलहरु । सानो छोरा दृष्टान्तको स्मरणहरु छन् । र आफुप्रतिको मुल्यांकन पनि छ ।

उहाँले मोरंग जिल्लाले तत्कालिन समयमा ठूलो धक्का दिन सक्नुपथ्र्यो । इतिहासदेखि आजसम्म लोकतन्त्रको प्रदर्शन र समर्थनमा सधैं अग्रणि रहेको मोरङ जिल्ला यसपाली अलि सुस्ताएकोमा जेलभित्रै चिन्तित छन् उनी । आफुलाई पक्रेको बेलामा समेत हात हल्लाउन कन्जुस्याइ गर्नेहरु देखि चिन्तित छन् । उहाँ भन्नुहुन्छ, गाडिमा चढ्नु अगाडि सडकको दुवै किनारामा उभिएर मेरो गिरफ्तारीको तमाशा हेरिरहेको मानिसहरुलाई हात उठाएँ । एक दुइजनाबाहेक कसैले हात उठाएनन् । उहाँ विराटनगरको सम्बन्धमा चिन्तित भएर भन्नुहुन्छ , विराटनगर त मुर्दातुल्य भएको छ । कहिकतै जुलुस निस्किएको समाचार आउँदैन । मलाई लाग्छ यति ठूलो राजनीतिक घट्नाक्रमपछि विराटनगर यसरी निस्क्रिय भएर सुतेको इतिहासमै पहिलोपटक होला । यसले विराटनगरको ऐतिहासिक छवि र प्रतिष्ठालाई धुमिल बनाएको छ ।

उहाँले पुस्तकमा आफ्नो केही मार्ग निर्देशक कुराहरु पनि सार्वजनिक गर्नु भएको छ । यी उहाँका बोधहरु पनि हुन् । जस्तै, धर्मका नाउँमा पण्डितहरुले दिने आदेशलाई त म मान्दिन । र म कुनै शक्तिशालि मानिसका हुकुमहरु पनि तामेल गर्न तयार छैन । मलाई राम्रोसँग थाहा छ एउटा निस्चित समयपछि यो संसारमा म रहन्न अर्थात मेरो मृत्यु पुर्वनिश्चित छ । यो सत्यलाई बुझेपछि मैले धन दौलतको पछि किन दगुर्ने ? लालच किन राख्ने बाँचुन्जेलका लागि आधारभुत कुरा भए पुगिहाल्यो नि ।( पुस्तकबाट) राजनीतिमा लागेर ठूलो पद पाउँला, त्यसको कुनै आशा पनि छैन । पद, प्रतिष्ठा, पैसा या वैभव कुनै कुराको लोभ छैन । एउटा वैराग्यले छाएजस्तो सन्यासीको चरित्र भएको छ मेरो जिवन, जसमा कुनै अनुचित महत्वाकांक्षा छैन । साथीहरु कुरा गर्छन्, यो बन्नुपर्छ , त्यो बन्नुपर्छ, मलाई कुनै दिलचश्पी छैन । केवल एउटै ध्येय छ, समाज बन्नुपर्छ देश बन्नुपर्छ, मानवजाति बन्नुपर्छ । यति भए मेरो जिवन सार्थक हुन्छ र म स्वयं बन्छु । उहाँका यी कुराहरुले आजको समाजलाई सहि दीशामा पुर्याउन सक्ने देखिन्छ । यो उहाँको स्पिरिटले नेपाली समाज हाँक्नु पर्छ भन्ने देखिन्छ । यस्तै मोटो प्रस्तुत गर्नु भएको थियो बिपी कोइरालाले नेपाली कांग्रेस पार्टीका ‘कार्यकर्ताहरुले निस्काम फल प्राप्तिको लागि गेरु वस्त्र धारण गर्नुपछर्’ भन्ने कुरोसँग उक्त कुरोको तालमेल पाइन्छ । यसको सामिप्यता यहाँनिर छ भने अर्कोतिर राजनीतिमा नैतिकताका प्रवर्तक नेता गुरुराज घिमिरेको मुल्य मान्यता झल्काउँछ । म चाहान्छु यही विचार चेतना आदर्शले नेपाली समाजलाई डोर्याउनु पर्छ । परिवर्तन या समृद्ध नेपाल यहाँबाट लम्किन सम्भव छ । यो नै साधन या माध्यम बर्गको कुरो हो ।

नेपाली साहीत्यमा या विश्व साहित्यमा जेल डायरीको छुट्टै महत्व छ । विपी कोइरालाको जेल जर्नल, सुन्दरीजल जस्तो कृतिहरु नेपाली राजनीतिको, इतिहासको अध्येताहरुको लागि सदैब उच्चकोटीको कृतिहरु हुन् । उहाँले सुन्दरीजल जेलभित्र लेख्नु भएको सुम्निमा उपन्यास नेपाली पाठकहरु माझ सधैं चम्किएर रहेको छ । यसरी जेलमा पर्दा केही गर्ने इच्छा शक्ति भएकाहरुबाट लेखिने तत्कालिन विषय बस्तु, अनुभुतिहरु शक्तिशालि रुपमा आएको देख्न पाइन्छ । यही हारमा उभिने पुस्तक हो बन्दि जिवनको अनुभुतिहरु । यो बन्दि जिवनको समयतालिका भित्र लेखि सकिएको पुस्तक हो । कसैकसैले संस्मरणको रुपमा जेललाई पछि लेख्ने गरेका छन् । तर यो तत्काल लेखि सकिएको पुस्तक हो ।

टेक्स्टमा कथागतताहरु छन् । म पात्रको जेलमा भएकोले संस्मरणहरु तेज भएको छ । लेखक पाठकसँग एक ठाउँमा सम्बाद गर्छन् । यस्तै बेला रहेछ, पुराना कुराहरुको कुराहरुको सम्झना हुने । निवन्धहरु आइरहन्छ । समाचारको बान्कीहरु छन् । समग्रमा उपन्यासको बान्की छ । कवितात्मकताका हरफहरु छन् । उहाँको कविता ज्यादै सुुन्दर लाग्छ । कविता मोडेलमा दुइवटा बान्कीहरु छन् । आख्यानमा विधामा आएको यो कविताको फर्मले तत्कालिन समयलाई बोकेको छ । आख्यानसँग कविता सँगसँगै जान्छ भन्ने यो अर्को उदाहरण पनि हो । आफ्ना कुराहरु, अनुभवहरु, संस्मरणहरु बताउँदै जाँदा कविता आइपुगेको छ । यसरी जिवनसँग कविता युगौंदेखि टाँसिएर बसेको छको रचना हो । त्यसो गर्दा पाठहरु विधा मिश्रित हुन पुगेको छ । लेखक घिमिरे कवि भएर तत्कालिन राजा ज्ञानेन्द्रलाई चुनौति दिन्छन् । यो कवितामा गणतान्त्रिक नेपालको प्रस्ताव छ । हामी अर्थात जनतालाई यसरी चलाउँदै जाने हो भने जनताले छोड्ने छैन भनेर प्रसारण गरेका छन् । जुन परिस्थिति आज सहजै देख्न पाइन्छ । जतिबेला यो कविता लेखिएको समयमा राजा गद्धिमा बसेर निरंकुशताको शासकीय उपस्थिति देखाइरहेको थियो । त्यो बेला जेलमा यो कविता जन्मियो । तव राजतन्त्रको मृत्यु भयो । कुरो प्रष्ट छ । उहाँ यसरी बक्नुहुन्छ ।

अपुतालि सिंहासनमा बसेर
आदेश फर्माउने ए राजा महाराजाहरु
ख्याल गर
तिम्रा काला कोठरीहरु खालि हुदै छन ।
थाकिसके हामीसँग तिम्रा सिपाही र बन्दुकहरु
कान्ति छैन तिनको मुहारमा कति पनि
गोलि बारुद छैन तिनको हतियारमा
सार्थक जिवन जिउन हिँडेको मान्छे हामी
नजिस्क्याउ हामीलाई
काला बारुला हौ हामी
पानी मुनि पनि छाड्ने छैनौ तिमिलाई ।
एउटा राजनीति गर्ने व्यक्तित्व जसले दिनरात कथाहरुको आफैं सामना गरिरहेको हुन्छ । कति कथाहरुको निर्माण, विघटन गरिरहेको हुन्छ । आफैं कति कथाको पात्र भएर हिँडिरहेको हुन्छ । कति कथानकमा निर्णायक नेतृत्व गरिरहनु परेको हुन्छ । त्यसकारण क्रियाशिल व्यक्तिहरुको कथा त्यतिकै निर्णायक हुन्छन् । आपत विपतको सामना गर्न सक्ने हुन्छ । परिस्थितिमा नबोलि धर नपाउने प्रकारको हुन्छ । यसरी उहाँको लेखनको क्रियाशिलता र यो पुस्तकको गतिशीलता एकै ठाउँमा छ । कतिले यसलाई साहीत्यमा लेख्छन्, कतिले लेख्तैनन् । तर गुरुराज घिमिरेले लेखेर आएका छन् । यसो गर्दा लेखकीयता र सक्रिय सार्वजनिक जिवनको प्रयोग उहाँमा पाइन्छ । यसरी दुवै क्षेत्रमा चर्चा कमाउने नेपालमा राजनेता विपी कोइराला सधै उदाहरणीय छन् । यस्तो लेख्यकरणले नेतृत्वले सम्बादको अवसर पाउँछ । किनभने एउटा पुस्तक लेख्नु भनेको लामै अनुभुतिहरुमा खेल्नु हो । अभिव्यक्ति राख्नु हो । त्यसकारण लेखकहरु अरुका सामु हुन्छन् । अरुका सामु इमान्दार हुन्छन् हुनुपर्छ । त्यही इमान्दारिता भनेको नैतिकता हो । अथवा समाजमा नैतिकता या राजनीतिमा नैतिकता ।

यहाँ उनले संगीत बारे धारणा पनि राखेका छन्, गीत संगीतले सन्देश दिन सक्नुपर्छ र जिवन जगतलाई तत्कालिन र दिर्घकालिन रुपमा प्रभावित पार्नु पर्छ । अर्थात गीत संगीतमा देश बोल्नुपर्छ । मानव जाति बोल्नु पर्दछ र समग्र संसारलाई दिशाबोध गर्न सक्नु पर्दछ । (पुस्तकबाट)

स्वभाविक जेलभित्र लेखन गर्न धेरै साह्रो गाह्रो हुन्छ । प्रशासनको आँखा छलेर लेखपढ गर्नुपर्ने हुन्छ । विपी कोइरालाले आफुले पत्रिकाको अलिकति खालि भागमा लेखेको उल्लेख गरेका छन् । त्यस्तै गुरुराज घिमिरेले सानो खाले कपीमा लेखेर डस्नाको एकभाग च्यातेर गोलो बनाएर डस्नाको बीचभागमा पुर्याएर राखेर शुरक्षित गरेको बताएका छन् । त्यसमाथि पनि करिव ३० पेज जति जफत भएको बताए । यसरी बढो कष्टकर समयको प्रतिनिधित्व गर्छ यो पुस्तकले ।
अध्ययनले सुसज्जित गुरुराज घिमिरे विराटनगरबाट पक्राउ पर्नु स्वभाविक थियो । किनभने राजा विभिन्न बाहानमा सक्रिय हुन थालेपछि लोकतन्त्रको पक्षमा देशभरि गरिएको युवा विधार्थी आन्दोलनको केन्द्रमा गुरुराज घिमिरे, गगन थापाहरु थिए । दलहरु प्रति अविश्वस्त समयमा समेत उहाँहरुको सक्रियतामा देश विदेशमा आन्दोलन भएको थियो । जसको कारण राजद्रोहको मुद्धा खेपेर जेलमा समेत परिसकेका थिए । एकप्रकारले त्यो सङकटकालिन समयको आशा, विश्वास, भरोसाको सिम्बोल हुनुहुन्थ्यो उहाँहरु । अभाङगार्ड थिए । लाइट हाउस थिए । त्यसकारण आजको गणतन्त्रको सन्दर्भ स्रोतहरु भनेका प्रमुख रुपमा उहाँहरु नै हुनुहुन्छ । इतिहासले यो कुरोको एकदिन सविस्तार मुल्यांकन गर्ने नै छ । यति भन्न सकिन्छ, यदी उहाँहरुले चलाएको प्रतिगमन विरुद्धको आन्दोलन सफल नभएको भए आज यो देशमा राजा र माओवादी रहन्थे तर दलहरु रहने थिएन । नेपाली राजनीतिक कोर्स यहाँ आइपुग्दैन थियो । यो आजको भुकम्पउत्तर राजनीति देखिदैन थियो भन्दै उहाँहरुको साहसलाई कदरका साथ उहाँबाट फेरि साहीत्यको कुनै विधा विशेषको कृति पाउने आशा गर्दै अहिलेलाई एउटा कविताबाट निक्लिन्छु ।

बस्तीमा एउटा खबर आयो
भरेभोलि आकाश खस्तै छ रे
मानिसहरु सवैलाई घरबाट बाहिर ननिक्लनु भन्दिनु
जायजेथा जे जति छ पोको पारेर राख्नु
पटक्क ननिक्लनु घरबाट आकाश खसिहाल्छ
निस्कने दुस्साहस गरे जिवन जाला
घरभित्र बसे ज्यान जोगिएला
कस्तो आकाश बाहिरमात्र खस्ने ?
कसरी खस्छ ? यो तर्क कसैले नगर्नु
कसैले गरे विपति बेहोर्न तयार हुनु
किनभने खवर ल्याउने निकै शक्तिशालि छ
त्यसैले यो खबरमा कति पनि संका नगर्नु
आकाश त खस्छ खस्छ
आज नखसे भोलि खस्छ, भोलि नखसे पर्सि खस्छ
यो उसको ब्रम्हले भनेको । (बन्दी जिवनको अनुभुतिहरु)

(नेम्वाङ बिपी अध्ययन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुन् । )